शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

राष्ट्रपति चयनका लागि मतदान सिकयो, बेलुका ८ बजेभित्र परिणाम घोषणा गर्ने

बिहिवार, फागुन २५, २०७९

काठमाण्डौ । राष्ट्रपति चयनका लागि मतदानको समय सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो । ३ बजेसम्म मतदान स्थलमा प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउनेछन् ।

मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलका सांसद उपस्थित भएका छन् । राष्ट्रपतिका उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले  पनि मतदान गर्नुभएको छ । पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ ।

अब केहीबेरमा मतगणना सुरु गर्ने र बेलुका ८ बजेभित्र परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी रहेको छ । राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार एक सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार चार सय गरी कुल मतभार ५२ हजार पाँच सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार दुई सय ७५ मतभार ल्याउनुपर्छ । सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने निर्णयअनुसार मतदान गरेन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

सम्बन्धित खबर