सोमवार, चैत २५, २०८१
Nayapaper | अनलाइन पत्रिका

सामाजिक परिचालिकाको समस्या नीति बनाएर समाधान गर्नुपर्नेमा जोड

बिहिवार, चैत २१, २०८१

काठमाडौँ, २१ चैतः प्रतिनिधिसभाका सांसदहरूले ‘सामाजिक परिचालिका’ हरूको समस्या यथाशीघ्र नीति बनाएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
 
प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले आफ्नो जीवनको ऊर्जाशील समय र शक्ति व्यतित गरी विगत २३ वर्षदेखि सरकारको जिम्मेवार निकायमा सेवा गरेका २१० जना सामाजिक परिचालिकाको समस्या यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिनुभएको हो ।
 
सांसद रोशन कार्कीले सरकारले सामाजिक परिचालिकाको श्रम शोषण गर्न नहुने उल्लेख गर्दै पीडित परिचालिकाहरूसँग आवश्यक छलफलपछि सरकारले श्रमको सम्मान हुनेगरी नीति बनाएर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सामाजिक परिचालिकाको समस्या समाधान स्थानीय र प्रदेश सरकारलेभन्दा पनि सङ्घीय सरकारले गर्नुपर्ने उहाँको भनाइ छ । 
 
सांसद सुशीला श्रीमाइली ठकुरीले परिचालिकाबारे प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर समस्या समाधानको पहल गर्नुपर्ने धारणा राख्नुभयो । सांसद लक्ष्मी तिवारीले परिचालिकाको समस्यालाई लिएर एक मन्त्रालयले अर्कोलाई देखाउँदै पन्छाउनेभन्दा सरोकार भएका निकायबीच छलफल गरी समाधान खोज्नुपर्ने बताउनुभयो । सांसद सरस्वती बजिमयले सामाजिक पहिचालिकालाई सरकारले अन्याय गरेको भन्दै सहज समाधानको उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । 
 
सोही अवसरमा महिला सामाजिक परिचालिका राष्ट्रिय अभियानका संयोजक कविता सोडारीले उमेर पुगेर सेवामा फर्किन नचाहनेहरूका लागि हालसम्मको योगदानबापतको रकम दिनुपर्ने माग गर्नुभयो । महिला विकास कर्मचारीलाई जस्तै सामाजिक परिचालिकाबीच पनि आन्तरिक प्रतिस्पर्धा गराई समेटिनुपर्ने उहाँको भनाइ छ । 
 
“सेवाबाट वञ्चित गराइएकालाई सेवा निरन्तरता दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालले तत्काल बजेटसहितका कार्यक्रम सञ्चालन गर्नुपर्छ । सम्पर्क, समन्वय र सहजकर्ताका रूपमा लक्षित वर्ग तथा समुदायको हकमा कार्यरत सामाजिक परिचालिकाहरूलाई सेवामा फर्काइनुपर्छ । हरेक पालिकमा महिला विकास कार्यक्रममार्फत पुनर्जागरण अभियान सञ्चालन गरी तत्काल सेवामा जोडिनु÷समेटिनु पर्छ”, उहाँले भन्नुभयो ।
 
हाल सामाजिक परिचालिकाको कार्यरत अवस्था, श्रेणी र पारिश्रमिकतामा एकरुपता नभएको हुनाले कार्यविधि बनाएर साबिकको स्थानीय विकास मन्त्रालयअन्तर्गत छौटौँ र सातौँ (वरिष्ठ सामाजिक परिचालिका) पद÷श्रेणी कायम हुनुपर्ने सामाजिक परिचालिकाको माग छ । महिला विकास कार्यक्रम र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको निर्देशिकाबमोजिम नियुक्त भएका महिलालाई पनि सोही सरह कायम गरी विभेद् अन्त्य गरिनुपर्ने परिचालिकाको माग छ । 
सम्बन्धित खबर