शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड २ मा घरेलु हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

शुक्रवार, फागुन २६, २०७९

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पछिल्लो समय महिला हिंसासंगै पूरुष हिँसा पनि बढ्दै गएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाउन सबैलाई आग्रह गर्नु भयो ।कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका उप प्रमुख संग्रौलालले लागुऔषधकाकारण पनि विभिन्न प्रकारका हिंसा हुने गरेको भन्दै सभ्य समाज निर्माणका लागि सबै एक जुट हुनु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमकी प्रशिक्षक अधिवक्ता कविता शर्माले पछिल्लो तथ्याङ्क अनुसार समाजमा ८२ प्रतिशत महिला श्रीमानबाट पिडित रहेको बताउनु भयो । उहाँले महिलाहरुलाई यौनसंग मात्रै जोडेर हेर्ने गरिएकोकारण हिंसा बढ्दै गएको बताउनु भयो । आत्म सम्मानमा चोट पुर्याउनु पनि हिंसा रहेको भन्दै उहाँले सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिनु भयो ।

यस्तै ईलाका प्रहरी कार्यालय अनारमनि बिर्तामोडका प्रमुख डिएसपी सुरज कार्कीले बिर्तामोडमा मात्रै वार्षिक १ सय ८० वटा भन्दा बढी हिंसाका मुद्वा दर्ता हुने गरेको जानकारी दिनु भयो ।
पुरुषको तुलनामा महिलाहरु बढी हिंसामा पर्ने गरेको भन्दै उहाँले हिंसाको घटना भएको मितिले ९० दिन भित्रमा प्रहरीमा उजुरी दिन सकिने बताउनु भयो । डिएसपी कार्कीले सहभागीहरुलाई घरेलु हिंसाका बारेमा कसुर, सजाय, कानुनी प्रक्रिया र उपचारका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यवहाक वडाअध्यक्ष ओमनाथ गौतमको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, शर्मीला राजवंशी, संगिता सिवा, वडा सदस्य शर्मीला तिखत्री, चेतन विमली, सहारा नेपालकी कमला थपलिया लगायत ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर