आइतवार, जेठ ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

अभियानबाटै भद्रपुरमा तीन घर हस्तान्तरण

मङ्गलवार, वैशाख १६, २०८२

बिर्तामोड, १६ वैशाख : राजनीतिमा क्रियाशिल झापाका युवाले सामाजिक रुपमा उदाहरणीय काम गर्दै गलत दृष्टिकोणलाई चिर्न सफल भएका छन् । राजनीतिमा लागेका युवालाई गलत परिभाषित गरिदिनेहरुका सामुन्ने सामाजिक काम गरेर सकारात्मक सन्देश दिन सफल भए, भद्रपुरका युवा ।

गत वर्षदेखि ‘गरिवको घर, युवाको भर’ नारासहित सुरु गरिएको अभियानबाट तीन वटा परिवारको आवास तयार गरि हस्तान्तरण नै गरिएको छ । राष्ट्रिय युवा संघ भद्रपुरले अगुवाई गरेर गरिव विपन्नका लागि तीन वटा निर्माण गरि हस्तान्तरण गरेको नगर अध्यक्ष दिपक बुढाथोकीले जानकारी दिनुभयो । गत हप्ता मात्रै एउटा घर हस्तान्तरण गरिएको थियो, अध्यक्ष बुढाथोकीले भन्नुभयो – यो वर्ष ३ वटा घर बनाएर हस्तान्तरण गरेका छौं । हरेक वडामा १-१ वटा घर बनाइदिने लक्ष्य छ । उहाँले राजनीतिमा सक्रिय हुनु भनेको बैठक गर्न र भाषण गर्न मात्र नभएको प्रतिक्रिया दिनुभयो । राजनीतिक माध्यमबाट सामाजिक काम गर्न सकिन्छ भन्ने लागेका घर बनाउन थालेको उहाँको धारणा छ ।

बुढाथोकीले आफ्नो कार्यकालको सुरुवातमै नयाँ र रचनात्मक काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो । उहाँको प्रतिवद्धतालाई सफल बनाउन युवा संघका सहकर्मीहरुले साथ दिएका छन् ।

भद्रपुर २ का रणबहादुर साँवालाई पहिलो पटक घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो । बरण्डासहितको २ वटा कोठा, शौचालय निर्माण गरेर पलङ, डाइनिङ टेवल र ग्यासको समेत व्यवस्था मिलाइएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुर ५ मा एकल महिला, वृद्धा नेमो राजवंशी र उनको अशक्त छोरालाई घर हस्तान्तरण गरिएको थियो ।

यस्तै, वडा नं। १० मा स्वर्गीय हिरादेवी दर्जीको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको छ । दर्जीका लागि बनाइएको घर उनको मृत्यु भएपछि छोरा घनश्यामलाई हस्तान्तरण गरियो । सबै घर निर्माणमा ६ लाख हाराहारी खर्च भएको अध्यक्ष बुढाथोकीको भनाई छ ।


घर निर्माण अभियान थालेपछि युवा संघका नेताहरुले घर निर्माणका सामग्रीसहित आर्थिक रुपमा समेत सहयोग गरेका थिए । ढुंगा,इटा, सिमेन्ट, रंङ, घरायसी फर्निचर लगायतका सामानहरु सहयोग प्राप्त भएको थियो, उहाँले थप्नुभयो – विपन्नका लागि घर बनाइरहेको भन्दा सबैले सहयोग नै गर्नुभयो ।

सम्बन्धित खबर