खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा
मङ्गलवार, मंसिर २७, २०७९
खोटाङ । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुईजना बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो।
दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि भारत गएको र अर्का पारिवारिक समस्याका कारणले बिदा बसेपछि सेवा प्रभावित भएको हो ।कर्मचारी नभएपछि आइतबारदेखि बिहीबारसम्मका लागि एक्स–रे सेवा बन्द गरेको अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताउनु भयाे ।
जिल्लाको एकमात्र सरकारी अस्पतालको सेवा बन्द भएपछि एक्स–रे गर्न आएका बिरामी अन्यत्र जान बाध्य छन्। बाहिर गएर एक्स–रे गर्दा निजी अस्पतालले महँगो शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ।