सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

क्रिकेट रङ्गशाला निर्माणको एक वर्ष पूरा, ३५ प्रतिशत सकियो काम, १४ करोड ऋण

आइतवार, भदौ २०, २०७८

रामपुर । चितवनको भरतपुर–१५, रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानअन्तर्गत संरचनाको काम सुरू भएको शुक्रबार १ वर्ष पूरा भएको छ । गत वर्ष श्रावण १ गतेदेखि जग हाल्न सुरू गर्दै कङ्क्रिट ढलानको काम शुभारम्भ गरिएको हो ।

रङ्गशाला निर्माण अभियानको सुरूवाती दिनदेखि मिति २०७८ साल असार मसान्तसम्म आइपुग्दा अहिले समग्र संरचनाको पैँतीस प्रतिशत काम भएको छ भने मैदान निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले बताए ।

रङ्गशालामा अहिले स्ट्यान्ड ए र बी २८६ वटा पिलर उठिसकेका छन् । पुटिनको काम भैरहेको छ । स्ट्यान्ड ‘ए र बी’मा ५ फिट अग्लो ढुङ्गाको पर्खाल तयार भएको छ । तीन हजार दर्शक क्षमताको पहिलो चरणको प्यारापिट तयार भएको व्यवस्थापक देवकोटाले बताए ।

मैदानमा दूबो रोप्ने काम सकिएसँगै मैदानको ९५ प्रतिशत काम सकिएको भन्दै मैदान पिच बनिसकेपछि हिउँदको समयमा रङ्गशालामा खेल खेल्न सकिने व्यवस्थापक देवकोटा बताउँछन् । मैदानको काम सम्पन्न गर्न एक वर्ष लागेको भन्दै उनले माटो तयारी अवस्थामा रहे पनि निरन्तरको वर्षात्ले गर्दा पिच निर्माणको काम हुन नसकेको बताए ।

परियोजना व्यवस्थापक देवकोटाका अनुसार रङ्गशालाको दुई स्ट्यान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ, त्यस्तै टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमण, आवश्यक माल–सामग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीका बाबजुद पनि रङ्गशालाको काम अघि बढाइएको उनले बताए ।
ररङ्गशाला निर्माणमा अहिलेसम्म ३८ करोड ४८ लाख ३८ हजार रूपैयाँको आर्थिक स्रोत जुटेको छ। निर्माणमा असार मसान्तसम्म ५२ करोड ८९ लाख १ हजार १ सय १२ रूपैयाँ खर्च भएको फाउन्डेसनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए। यसो हुँदा फाउन्डेसन अझै १४ करोड ४० लाख ६२ हजार ७ सय ४४ रूपैयाँ ऋणमा रहेको उनले बताए।

रङ्गशाला निर्माणमा खर्च भएको ठूलो हिस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको उनले बताए । रङ्गशालाका लागि गएको माघमा लगाइएको बृहत् धनधान्याचल महोत्सवबाट ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो। महायज्ञमा बोलकबोल ६९ करोड ४५ लाख ५६ हजार रूपैयाँ थियो ।

डिपिआरअनुसार नेपालको मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । रङ्गशाला एक लाख ५४ हजार पाँच सय ६ वर्गमिटरमा कमलको फूल आकारको संरचनामा बन्नेछ । रङ्गशालाको प्रवेशमै पानीमाथि गौतमबुद्धको ठूलो आकारको मूर्ति देखिनेछ।वरिपरि नेपालको पहिचान झल्कने जनावरसमेत रहनेछन् ।

झ्याल-ढोकामा मल्लकालीन कला झल्कनेछ । अन्तर्राष्ट्रिय मापदण्डमा आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमुना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ । मल्टी प्रपोज बोकेको रङ्शालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्वीमिङलगायतको खेल खेल्न सकिने फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बजेट अभाव हुँदा सोचेजसरी कामलाई अघि बढाउन नसकेको बताए । उनले भने, ‘रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटफिटी परेको छ ।’

‘म आत्मविश्वासले काम गर्दै आएको मान्छे हुँ । यो इमान्दारिताको यात्रा हो। हामी देश विकासमा सबै पक्ष एकढिक्का भयौँ भने देश विकासको गतिमा अघि बढ्छ । सबै नेपालीको साथ हुने हिसाबले धुर्मुस–सुन्तलीले आँट गरेका हुन्। यसका अभियन्ता सबै नेपाली हुनुहुन्छ’, फाउन्डेसनका अध्यक्ष ‘धुर्मुस’ले थप भने ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१५ को २० बिघा ६ कट्ठा क्षेत्रफल जग्गामा क्रिकेट रङ्गशाला निर्माण भैरहेको छ । रङ्गशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।

सम्बन्धित खबर