काठमाडौँ, २८ जेठः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याइरहेको बताउनुभएको छ ।
उहाँले संसद् जनताका मुद्दाभन्दा राजनीतिक दलका नेता र दलहरुको इगो साँध्ने थलो जस्तो बनेकामा दुःख लागेको प्रतिक्रिया दिनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, “विधेयकहरु पारित गर्नुपर्नेछ, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्दाहरु पनि छन्, अहिले बजेट अधिवेशन छ । आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ । त्यतापछि ध्यान नदिइ अल्झाउन लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याएको छ ।”
मुलुकमा भइरहेको संसदीय अभ्यास, वामपन्थी एकता, विप्रेषण, युवाहरु विदेशपलायनलगायतका विषयमा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश: केही दिनदेखि निरन्तर संसद् अवरोध भएकामा मलाई असाध्यै दुःख र चिन्ता लागेको छ । हामीले नेपालमा जे शासन प्रणाली अपनाएका छौँ, यो परम्परागत खालको ‘वेष्ट मेनेष्टेरियल’ संसदीय प्रणाली होइन, त्योभन्दा अगाडि बढेको समावेशी सहभागितामूलक लोकतन्त्र उन्मुख भएका संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको छौँ । त्यसको अभ्यासमा एकदमै कमजोरी भएको म देख्छु ।
सत्तामा रहुञ्जेल सबै ठीक छ भन्ने सत्ताबाट निस्केपछि केही पनि ठीक छैन भन्ने प्रवृत्तिले खाली एउटा औपचारिक लोकतन्त्रको मात्रै कुरा गर्छ । त्यसबाट वाक्कदिक्क भएर नै हामीले विद्रोह गरेर नेपालको लोकतन्त्रलाई अझ उन्नत बनाउनुपर्छ भनेर लडेका थियौँ ।नेपालको अहिलेको संसदीय अभ्यास पनि उही परम्परागत संसदीय अभ्यास जस्तै रुमलिने र महिनौँसम्म संसद्लाई अल्झाइराख्ने काम भएको छ ।
संसद् जनताका मुद्दाभन्दा नेताका र दलहरुको इगो साँध्ने थलो जस्तो बनेको छ । यसमा मलाई अन्यन्त दुःख लाग्छ । किनकी केही वर्षयताकै तथ्य हेर्दा महिनौँसम्म सामान्य विषयलाई लिएर सदन अवरुद्ध गर्ने र काम केही पनि नगर्ने भयो । विधेयकहरु पारित गर्नुपर्नेछ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्दाहरु छन् । अहिले बजेट अधिवेशन छ । आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ । त्यतापछि ध्यान नदिएर अल्झाउने जुन काम भइरहेको छ । त्यसले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याएको छ । नेपालको अर्थतन्त्र युगौँदेखि असाध्यै कक्रिएर बसेको छ ।
लोकतन्त्रले यसलाई खुलापनमा ल्याइसकेपछि हाम्रो साधनस्रोतको व्यापक परिचालन गरेर छोटो अवधिमा ठूलो फड्को हान्ने नीति हामीले लिनुपर्नेथ्यो । त्यो लिन नसक्दा यो जहाँको तही रुमलिएर बसेको छ । त्यसैले मैले सुरुदेखि नै के भन्दै आएको छु कि नेपालको अर्थतन्त्र आन्तरिक रुपमा यो गतिहीनता हो र बाह्य रुपमा चै यो परनिर्भरता हो ।
आन्तरिक गतिहीनता र बाह्य परनिर्भरताको साङ्लोमा नेपाली अर्थतन्त्र लामो समयदेखि परेको छ । यसलाई मुक्ति दिनु नै मुख्य जोड हुनुपर्ने थियो । त्यसो हुन सकेन । त्यसैले हामीले गर्न खोजेको प्रयास पनि त्यही हो । परम्परागत राजनीतिक सोच, संसदीय खेलमा मात्रै रमाएर मात्रै बस्ने जुन प्रवृत्ति बढ्यो । त्यसले चै यो आर्थिक रुपान्तरणलाई जोड दिन सकेन । त्यस अर्थमा पनि समग्र राजनीतिको पुनःसंरचना आवश्यक छ र वैकल्पिक राजनीति आवश्यक छ भन्ने विश्वास बढ्दैछ ।




